हाम्रो पात्रो नयाँ डिजाइनमा

१० लाख भन्दा बढि पटक डाउनलोड भएको, लोकप्रिय एप् हाम्रो पात्रो नयाँ डिजाइनमा!


नेपालीहरुका माझ सर्वाधिक रुचाइएको, हाम्रो पात्रोको नयाँ संस्करण गुगल प्लेस्टोरमा  उपलब्ध  छ । हाम्रो पात्रोको, नयाँ संस्करणमा डिजाइन र कन्टेन्ट दुवैमा व्यापक सुधार गरिएको छ । गत वर्ष गुगल’ले प्रतिपादन गरेको, मटेरियल डिजाइनलाई हाम्रो पात्रोले आफ्नो नयाँ संस्करणमा अंगाले’को हो । विगत केही हप्ता देखि परिक्षणमा रहेको यो एप्‌ स्लो ईन्टरनेट कनेक्सनमा पनि मज्जासँगले चल्छ । एप्‌को ल्यान्डिङ पेज/होम पेजमा सबैभन्दा माथि आजको मिती, त्यसपछि चाडपर्वहरु, रेडियो तथा समाचार, राशिफल आदिका ईन्फरमेसन कार्डहरु देखिन्छन् ।

डिजाइन

मटेरियल डिजाइन अंगालेका कारण, पहिलेको र अहिलेको हाम्रो पात्रो’को डिजाइनमा, (लुक एन्ड फिल) आकाश-जमिनको फरक महशुस गर्न सकिन्छ । एपको वाँया भागमा न्याभिगेसनबार रहेको छ, जसको माथिल्लो भागमा आफ्नो तस्विर देखिन्छ (तस्विरका लागि नेपाली जन्मदिनमा, गएर फेसबुक लगइन गर्न सकिन्छ) । अर्को रमाइलो कुरा के भने, नेपाली चाडपर्व अनुसार आफ्नो तस्विर पछाडीको तस्विर पनि आफैँ परिवर्तन हुन्छ । न्याभिगेसन बारमा, समाचार, पात्रो, हाम्रो रेडियो, लोडसेडिङ, राशिफल आदि विविध कुराहरु राखिएको, जुन सजिलै एक क्लिक गरेर हेर्न सकिन्छ । यो एप् नेपाली र अंग्रेजी दुवै भाषामा चलाउन सकिन्छ, यसका लागि सेटिङस्‌मा गएर आफ्नो भाषा छान्नुपर्छ ।

 

ईन्फरमेसन कार्ड

एउटा पात्रोबाट सुरु भएको हाम्रो पात्रोमा, यहाँसम्म आइपुग्दा धेरै कुराहरु थपिएकाछन् । रेडियो, समाचार, बजार, मौसम, लोडसेडिङ आदि गरेर १५ भन्दा धेरै फिचर रहेको हाम्रो पात्रोमा, यो संस्करण देखि प्रयोगकर्ताको रुचि अनुसार देखिने ईन्फरमेसन कार्डहरु थपिएकाछन् । हाम्रो पात्रो टिमका अनुसार, प्रयोगकर्ताको मिती, समय, लोकेशन आदि हेरेर, त्यही अनुसारको कार्ड एप्‌को होमपेजमा देखाइन्छ । उदाहरणका लागि, बिहानको समयमा धेरैले राशिफल हेर्ने भएका कारण, राशिफलको कार्ड, बिहानको समयमा होमपेजमा माथि देखिन्छ भने बेलुकी समचार तथा रेडियो कार्ड माथि देखिन्छन् । हाम्रो पात्रो टिमका अनुसार, प्रयोगकर्ताको रुची, प्रयोग गर्ने शैलीको तथ्यांक हरेर ईन्फरमेसन कार्डमा समयानुकुल सुधारहरु गर्दै लगिनेछ । १५ वटा भन्दा धेरै फिचर भएको हाम्रो पात्रोमा, अहिले १० वटा ईन्फरमेसन कार्डहरु उपलब्ध छन् ।

 

दिवस / चाडपर्व बारे विस्तृत जानकारी

हाम्रो पात्रोमा, नयाँ थपिएको दिवस / चाडपर्वको विस्तृत जानकारी दिने फिचर मलाई मन परेको फिचर मध्येमा एक हो । कुन चाड/दिवस, कहिले, किन, कसरी मनाइन्छ भनेर हामी मध्ये धेरैलाई थाहा नहुनसक्छ । आज यो चाड भन्यो, त्यो दिवस भन्यो, तर त्यो भन्दा धेरै जानकारी हामीसँग हुँदैन । यसअघिको हाम्रो पात्रोमा पनि, कुन दिन के चाड/दिवस छ भन्ने चाँहि देखिन्थ्यो तर त्यसबारे अरु केही कुरा थाहा पाउन सकिन्नथियो । अहिलेको संस्करणले हामीलाई फलानो दिन यो चाड हो भनेर मात्रै भन्दैन, त्यस चाडबारे’को सम्पूर्ण जानकारी पनि दिन्छ । जस्तो २ दिन पछि आउन लागेको कुशे औँशी / बुबाको मुख हेर्ने दिन, बारे जानकारी लिन, उक्त मितिमा क्लिक गरेपछि, कुशे औँशी के हो, कसरी मनाइन्छ भन्ने कुरा विस्तृतमा पढ्न पाइन्छ । विभिन्न चाडपर्व, महत्वपूर्ण तिथि/मिति, दिवस बारे विस्तृत जानकारी हासिल गर्न मिल्ने, यो हाम्रो पात्रो’को गज्जबको फिचर हो। दिवस/चाडपर्वको पूर्ण जानकारी दिनको लागि हाम्रो पात्रो टिमले गरेको प्रयास प्रशंसायोग्य छ ।

 

मौसम

एप्‌को यो नयाँ संस्करणमा, मौसम पनि थपिएको छ । हाम्रो पात्रो टिमका अनुसार, हाम्रो पात्रोमा ७ दिनको मौसम तथा १५ हजार भन्दा धेरै सहरहरु समेटिएकोछ । नेपाली भाषामा पनि सजिलो सँग हेर्न सकियोस् भनेर, करिब ५ हजार सहरहरुको नाम तथा मौसम सम्बन्धि गतिबिधि नेपालीमा उल्था गरिएकोछ । मौसम सँगै साहित्य/ब्लग सेक्सन पनि थपिएको छ, जहाँ हाम्रो पात्रो टिमले आफ्ना कुराहरु प्रकाशित गर्ने छ  । हालको लागि उक्त सेक्सनमा, महत्वपूर्ण टेलिफोन नम्बरहरु, चाडपर्वहरु, शुभ साइत आदि कुराहरु राखिएकोछ ।

५ गुना कम डाटा

हाम्रो पात्रो टिमले, हाम्रो पात्रो एप्‌को नयाँ संस्करणले ५ गुना डाटा बचाउने दावी गरेकोछ । पहिलेको तुलनामा यो संस्करणको एप्‌मा फोटोहरु छिटो लोड हुनेछन्, पहिलेको संस्करणमा सर्भरबाट एकै किसिमको (एउटै साइज/रेजलुसन) फोटो सबैको डिभाइसमा देखिन्थ्यो भने यस संस्करणमा, मोबाइल डिभाइसको स्क्रिन रेजलुसन अनुसार फरक फरक साइज/रेजलुसनका फोटोहरु देखिन्छन् । यसले इन्टरनेट डाटा बचाउने मात्र होइन, सिडिएन प्रयोग गरिएका कारण एप्‌मा फोटोहरु पनि छिटो लोड हुन्छ ।

समाचार

हाम्रो पात्रोमा पहिले देखि नै विभिन्न वेबसाइटमा प्रकाशित समाचारहरु पढ्न पाइन्थ्यो । त्यही कुरालाई नै परिस्कृत गरेर, यस संस्करणको, समाचार खण्डमा ताजा समाचार र पत्र-पत्रिका भनेर दुईवटा खण्ड बनाइएकोछ । हाम्रो पात्रोको यो संस्करणमा, अन्य वेबसाइट सँगै “आकार पोष्ट” पनि समेटिएको छ, अब “आकार पोष्ट” ब्लग, हाम्रो पात्रो भित्रै, पत्र-पत्रिका खन्डमा पढ्न सकिन्छ । ईन्टरनेटबाट एक पटक डाउनलोड भएका सामाग्रीहरु, ईन्टरनेट नभएको बेलामा पनि पढ्न सकिन्छ । अर्को राम्रो कुरा चाँहि, समाचारहरु अब विजेट्मा‌ पनि राख्न सकिने भएकोछ ।

हाम्रो पात्रोमा पहिले देखि भएका ई-कार्ड, नेपाली डिस्कनरी, मिति परिवर्तन, लोडसेडिङ आदि विविध फिचरहरु यथावत राखिएका छन् । भाषा, नोटिफिकेसन, जन्मदिन आदिको लागि सेटिङ्स‌मा गएर आफ्नो अनुकुल सेटिङ्स गर्न सकिन्छ । यसका साथै, एप्‌मा भएका विविध कुराहरु सजिलै फेसबुक, ट्विटर लगायत सामाजिक सञ्जालमा सेयर गर्न सकिन्छ।

हाम्रो पात्रोको नयाँ संस्करणको लागि, हाम्रो पात्रो टिमलाई बधाई छ । हाम्रो पात्रोको नयाँ संस्करण आजबाट गुगल प्लेस्टोरमाउपलब्ध छ । के तपाईले एप् अपडेट गर्नु भयो?

Leave a comment